
राकेस बस्नेत
दाङ । खासै चर्चामा नआएको दाङको छिल्लीकोटमा भ्यू टावरसँगै अन्य संरचनाहरू निर्माण भएसँगै पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको छ । पछिल्लो समय डाँडामा भ्यू टावर बनाएपछि छिल्लीकोटले चर्चा पाउन थालेको छ ।
छिल्लीकोटको टापुबाट दाङ उपत्यकालगायत पहाडी जिल्लाको हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । भ्यू टावर बनेपछि दैनिक सयौं पर्यटक आउन थालेको छिल्लीकोट संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर पुन मगरले जानकारी दिनुभयो ।
भ्यू टावरसँगै रहेको कालिका र मालिका भगवतीको मन्दिर पनि यहाँको आर्कषणको रूपमा रहेको छ । उचाइमा भएकाले वरपरको दृश्यावलोकन गर्न पाइने भएकाले छिल्लीकोट रमणीय ठाउँ भएको भन्दै बाटो र सरसफाइमा ध्यान दिनुपर्ने आन्तरिक पर्यटकले बताएका छन् ।
छिल्लीकोटमा तत्काली राजाहरूले प्रयोग गरेको सामान लगायत टुँडिखेल, इन्द्रचोकलगायतका ठाउँ भएकाले पनि महत्वपूर्ण मानिने स्थानीयको भनाइ छ । विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले छिल्लीकोटको विकासका लागि उद्योग वाणिज्य संघ निरन्तर रूपमा लागि परेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले भने उपमहानगर भित्रका पर्यटकीय स्थलहरूको सूची तयार गरेर यसको आकर्षण वृद्धी गर्न पूर्वाधारहरू निर्माण गर्ने गरेको जनाएको छ । छिल्लीकोट बाइसे चौबिसे राज्य हुँदाको एक ऐतिहासिका र महत्वको स्थान हो । भ्यु टावर निर्माणसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।
अन्य संरचनाहरू पनि बन्दै गएपछि पर्यटकीय केन्द्रका रुपमा अगाडी बढेको छ । आन्तरिक पर्यटकहरूको आगमनसँगै बाहिरी पर्यटकहरूको आकर्षण बढाउन थप गतिविधिहरू सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्