२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हिलपार्कमा लुम्बिनी प्रदेशकै पहिलो जीपलाइन


0
Shares

प्रदीप आचार्य
बुटवल । खेलकुदका अनेक पारखीहरू रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ । त्यो पनि बुटवललाई एकसाथ नियाल्न सकिने अग्लो र आकर्षक स्थान हिलपार्कमा । लक्ष्मी आर्दश सामुदायिक वन उपभोक्ता समूहको हिलपार्क र उत्तरको अर्काे डाँडालाई जोड्ने गरी जीपलाइनको पूर्वाधार तयार गरी वाइल्ड वर्ल्डस् नेपाल प्रा.लि.ले साहसिक खेल जीपलाइ सञ्चालनमा ल्याएको हो ।

कोरोनाको महामारीले पर्यटन व्यवसाय शिथिल भएको अवस्थामा लुम्बिनी प्रदेश मै पहिलो पटक जीपलाइन सञ्चालनमा आएको हो । ७ सय ५० मिटरको तारबाट जीपलाइन गर्न सकिन्छ । हिलपार्क जीपलाइन परियोजनामा करीब एक करोड १५ लाखको गुरुयोजना अनुसार काम भइरहेको र पहिलो चरणमा जीपलाइनको पूर्वाधार तयार भएको सञ्चालकमध्येका एक हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।

राजकुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिमलाल भण्डारीले पर्यटन र व्यवायलाई सँगसँगै अघि बढाउने उदेश्यले जीपलाइन निर्माणको काम अघि बढाएका हुन् । बालबालिका र युवाहरूको लागि छुट्टाछुट्टै जीपलाइन सञ्चालन गरिएको छ । कम्पन्नीले पर्यटकको ७ लाख रुपैयाँको बिमा पछि मात्र जीपलाइन खेलको मजा लिन पाइनेछ । दुबै डाँडामा रुखलाई नै आर्कषक ढंगले मचाङ बनाइएको छ । जीपलाइनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दृश्यावलोकनसमेत गर्न पाउनेछन् ।

एकातर्फ ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरी दुईतर्फी १ हजार ४ सय मिटर दुरीको सबैभन्दा लामो जीपलाइनले कोरोना भाइरसले शिथिल भएको पर्यटन व्यवसायलाई उकास्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । यो साहसिक खेलमा तारमा झुण्डिएर एउटा डाँडाबाट अर्को डाँडामा जान र आउन सकिन्छ । तारमा झुण्डिएर बुटवलको सुन्दर दृश्य हेर्दै मनोरञ्जन लिन सकिने भएकाले खेलका पारखी र स्थानीयसमेत जीपलाइन देखेर दंग देखिन्छन् ।