१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुवै पक्षका नेकपा आ–आफ्नै अडानमा, न्यायालयमाथि नाङ्गो हस्तक्षेप


0
Shares

काठमाडौं । प्रधानमन्त्री पद छाड्दै नछाड्ने केपी शर्मा ओलीलाई पदच्युत गराउने पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहको जिद्दीपनबाट दुर्घटनामा फसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै खेमाले राजनीतिक रूपमै अलग बाटो रोजेका छन् ।

ओली बैशाखमा निर्वाचन गराउँछु भन्दै हुनुहुन्छ भने अर्को पक्ष निर्वाचन हुनेमा गहिरो आशंका राख्दै प्रतिनिधि सभा पुनःस्थापनामा जोडबल गरिरहेको छ । प्रतिनिधि सभा विघटनसम्म एउटै दलमा रहेका उनीहरूमध्ये ओली पक्ष सत्तामा छ भने दाहाल–नेपाल पक्ष ओलीको कदम विरुद्ध सडकमा ओर्लिएको छ ।

ओली सार्वजनिक रुपमै आफ्नो राजनीतिक मार्गचित्रको वकालत गरिरहँदा चाहना पूरा हुन नदिने रणनीतिमा दाहाल–नेपाल पक्ष छ । ओलीलाई असफल तुल्याउन सडकमै ओर्लेको समूहका नेता दाहाल चुनावलाई ढाँटको खेती ठानिरहनु भएको छ । उसो त ओलीसँगको लामो राजनीतिक सहयात्रालाई पूर्णविराम लगाउनु भएका नेता नेपाल पनि ओलीले निर्वाचन गराउँछन् भन्ने भ्रममा पर्न नहुने बताइरहनुभएको छ ।

अहिलेको अवस्थामा दुवै पक्ष एकले अर्कोलाई राजनीतिक रुपमै रछ्यानमा फाल्ने रणनीतिमा लागिरहेको देख्न सकिन्छ । तर, प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा परेको रिटका कारण दुवै पक्षको राजनीतिक भविष्य अदालतको निर्णयबाट निर्धारण हुने देखिन्छ ।

त्यही कारण दुवै पक्ष अदालतले यस्तो फैसला गर्छ उस्तो फैसला गर्छ भनेर मुद्दालाई राजनीतिक रङ दिन जोडबल गरिरहेका छन् । दुवै पक्षले स्वतन्त्र न्यायालयमाथि नाङ्गो हस्तक्षेप गरी मुद्दा प्रभावित पार्न खोज्नु कदापि उचित होइन ।