काठमाडौं । आन्तरिक राजस्व विभागमा अन्तःशुल्क स्टिकरको मौज्दात सकिँदै गएपछि विभागले गत साउनमा जनक शिक्षा सामग्रीसँग अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार जनक शिक्षा सामग्रीले गत साउनदेखि चुरोट र मदिराका लागि अन्तःशुल्क स्टिकर छाप्दै आएको छ ।
अल्पकालिन आवश्यकताका लागि मात्रै जनक शिक्षा रोजेको विभागलाई कम्पनीले छाप्ने स्टिकरको गुणस्तरमा भने शंका छ । विभागले यस अघि २ पटक सम्म ग्लोबल टेन्डर आवह्वान गरेको थियो । पटक–पटक ग्लोबल टेन्डर आवह्वान हुँदा पनि कहिले कम्पनीले काम गर्ने इच्छा नदेखाउने त कहिले स्वदेशी कम्पनीले आफ्नो भाग खोज्दै सर्वाेच्चमा रिट दायर गरेपछी स्टिकरको अभाव हुने अवस्था आएको थियो ।
स्टिकर सकिने अवस्था आएपछि विभागले चुरोटमा लाग्ने ६९ करोड पिस अन्तःशुल्क स्टिकर छाप्न गत साउनमा २२ करोड ७७ लाख रुपैयाँमा र ७५ करोड पिस मदिराका लागि स्टिकर छपाईका लागि २५ करोड ५६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । राजस्वमा पनि असर नपरोस् भन्दै आपूर्ति प्रणाली नरोकिने गरी जनक शिक्षा सामग्री कम्पनीसँग विभागले सम्झौता गरेको हो ।
आगामी दिनमा भने ग्लोबल टेन्डरमार्फत अन्तशुल्क स्टिकरको खरिद गरी अभाव हुन नदिने विभागको दाबी छ । स्वदेशी कम्पनीले स्टिकरको सुरक्षा र गुणस्तरीयता दिन नसक्ने अवस्था आएपछि ग्लोबल टेन्डरमा जानुपर्ने विभागले जनाएको छ ।
क्षमता भएसम्म सरकारी र स्वदेशी कम्पनीलाई नै स्थान दिने व्यवस्था सार्वजनिक खरिद ऐनमै व्यवस्था गरिएको छ । सरकारले यसका लागि क्षमता विकास गरेर भए पनि सुरक्षित एवं गुणस्तर कायम गर्न सक्ने गरि स्वदेशी कम्पनीको क्षमता विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्