१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाका सुन्तलै रसिला, ३५ करोडको सुन्तला बिक्री


13
Shares

सागर न्यौपाने
स्याङ्जा । जिल्लाको सिरौंसामा लटरम्म फलेर हाँगै भचिएला झैँ गरी सुन्तला फलेका छन् । उदाउने बेलादेखि साँझ नआस्ताउन्जेल घाम लाग्ने र हिमालको दृश्य देखिने सिरौंसाका किसानहरूलाई अहिले सुन्तला टिपेर भ्याइनभ्याइ छ ।

लटरम्म फलेका पहेलपुर सुन्तलाले गाउँको रौनक नै बेग्लै देखिन्छ । एउटै गाउँमा झण्डै १७ हजार सुन्तलाका बोट छन् । एक वर्ष फल्ने, अर्को वर्ष नफल्ने प्राकृतिक नियम, वर्षातमा बढी पानी पर्दा र रोग लागेका कारणले यस वर्ष सुन्तला कम फलेको कृषकको गुनासो छ ।

गत वर्ष २० लाख रुपैयाँको सुन्तला बिक्री गरेका रामप्रसाद भण्डारीले यस पटक केही कमी हुने अनुमान गर्नुभएको छ । डेढ करोड रुपैयाँ भन्दा बढीका सुन्तला बिक्री गर्ने स्याङ्जाको सिरौंसाका सुन्तलाको मूल्य भने केही बढी पर्ने कृषकहरूको भनाइ छ । सुन्तलाको आकार, रङ र स्वादका आधारमा स्याङ्जाको सुन्तला र त्यसमा पनि सिरौंसाको सुन्तलाको मुल्य केही बढी पर्ने किसानको दाबी छ ।

सुन्तलाको उत्पादन भए पनि बजारमा बिक्री गर्ने प्रणाली भने अझै व्यवस्थित हुन सकेको छैन । आफैँ बोट हुर्काएर, फलेका सुन्तला आफैँ टिपेर, आफैँ ग्रेडिङ गरी बजारसम्म पु¥याउन केही समस्या हुने गरेको किसानहरुको भनाइ छ ।

सुन्तला उत्पादनमा सहयोग गर्न गल्याङ नगरपालिकाले ३० हजार विरुवा उत्पादन क्षमताको हाइटेक नर्सरी पनि किसानहरूका लािग बनाइदिएको छ । यसमा उत्पादन गरिएका विरुवा सोही ठाउँका साथै अन्य ठाउँमा पनि विक्री गरिएको छ ।

कोदो मकै सहितका खाद्यान्न बाली लगाइएका बारीमा अहिले सुन्तलाका बोटहरू हुर्किरहेका छन् । केही समयमै उत्पादन दोब्बर बनाउने कृषकहरूको लक्ष्य छ । उत्पादन बढी भए पनि बजारको खासै समस्या नरहेको किसानहरू बताउँछन् ।

सिरौंसामा सुन्तला उत्पादन कमी भए पनि समग्र स्याङ्जामा भने यस वर्ष सुन्तला उत्पादन २० प्रतिशत बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन ईकाई प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । सुन्तला सुपर जोनका अनुसार गत वर्ष १५ हजार टन सुन्तला बिक्रीबाट ३५ करोड रुपैयाँ आम्दानी भएकोमा यसपटक ४० करोड रुपैयाँको सुन्तला बिक्रि हुन सक्ने अनुमान गरिएको छ ।

सुन्तला उत्पादनमा लागेका कृषकहरूलाई प्रोत्साहित गर्नका लागि जोन सहितका विभिन्न अभियान भइरहेको छ । यो अभियानलाई निरन्तरता दिँदै गुणस्तरीय उत्पादन गराउन किसानलाई सहयोग गर्न सके यसैमा निर्भर बनेका कृषकहरूलाई फाइदा पुग्ने थियो ।