
काठमाडौं । नेकपाका ओलीपक्षीय नेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको छ । शनिबार प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रसङ्ग फरक भएकाले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले कामै गर्न नपाएपछि प्रतिनिधिसभा विघटन गरेको नेता नेम्वाङको भनाइ छ । उहाँले भन्नुभयो, ‘संविधानमा यो देशको राज्य प्रणाली संसदीय शासन प्रणाली हुन्छ भनेर लेखेको छ, संसदीय प्रणाली भनेको के हो प्रधानमन्त्रीको लिखित जवाफमा पनि उल्लेख गरिएको छ ।’
उहाँले भन्नुभएको छ, ‘संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन ।’ उहाँले डेढ वर्ष अघिको भिडियो भाइरल भएको प्रसङ्ग कोट्याउँदै अहिलेको प्रसङ्ग फरक भएको बताउनुभएको हो ।
दुई तिहाइ बहुमत भन्ने तर सिन्को भाच्न नदिएका कारण प्रधानमन्त्रीले संसद विघटन गरेको नेम्वाङको भनाइ छ । प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि जनताको बीचमा जाने निर्णय गर्नुभएकाले अब जनताले जनतामा जानेलाई छान्ने कि जनतामा नजाउँ भन्नेलाई छान्ने भन्नेबारेमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्