१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीएम कप क्रिकेट : १ सय ३५ रनले एपिएफ विजयी, अभिनासले लिए ५ विकेट


0
Shares

काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश–१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–१ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । प्रदेश–१ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे ।

दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए । जोसाक खड्काले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन । प्रदेश–१ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भएका छन् । यस्तै वसन्त रेग्मीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए । प्रदेश–१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले समान २–२ विकेट लिए । जितसँगै समूह ए मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।