
सुरेन्द्र भण्डारी/डोलराज रानाभाट
झापा/चितवन । हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण चिसो बढ्दा तराईका केही जिल्लाको जनजीवन प्रभावित बनेको छ । दिउँसो घाम देख्न पाइए पनि बिहान बेलुकी बाक्लो हुस्सु र शीतलहर बढ्दै जादाँ बुढाबुढी र केटाकेटी जाडोबाट बढी प्रभावित भएका हुन् ।
कठ्याङ्ग्रीदाे जाडोको कारण पूर्वि तराईको जिल्ला झापामा वृद्धवृद्धाहरू घरबाहिर सडकमै आगो तापेर न्यानोको खोजी गरिरहेका छन् । झापामा केही दिन अघिबाट अत्याधिक चिसो बढेको छ । हुस्सुले आकाश ढाकेर घाम देख्न नपाउँदा पश्चिमी वायुसँगै शीतलहर चल्दा कठ्याङ्ग्रीदो ठिहि बढेको छ ।
चिसो बढेसँगै सडकमा सर्वसाधरणको हिडडुल पातलिन थालेको छ भने हुस्सु र चिसोले गर्दा झापामा सवारी दुर्घटना पनि बढ्दै गएको देखिन्छ । पुस महिनामा मात्रै झापामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बिहानैबाट बाक्लो हुस्सु लाग्नु र सवारी सञ्चालन गर्दा राम्ररी सडक नदेखिनुले पुस र माघ महिनामा झापामा अत्यधिक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
केही दिन यता चलेको शीतलहरले एकातर्फ पूर्वको जनजीवन प्रभावित छ नै । अझ दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढेसँगै दुर्घटना रोक्न ट्राफिक प्रहरीलाई सकस भएको छ । पुसको तुलनामा माघ महिनामा चिसो ह्वात्तै बढेका कारण बढी समस्या भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै चोकचोकमा आगो बालेर ताप्नेको संख्या पनि उत्तिकै छ ।
यता चितवनमा पनि बाक्लो हुस्सु र तुवाँलोको कारण ह्वातै चिसो बढेको छ । चितवनका सडकमा आगो बालेर ताप्नेको संख्या बाक्लिँदै गएको छ । एकाबिहानै बजारमा पुग्ने र बिहानको बजार गर्नेहरू आगो ताप्दै चिया बेच्ने गरेका छन् । अत्याधिक चिसो बढेपछि आर्थिक अवस्था कमजोर भएका, न्यानो कपडा किनेर लगाउन नसक्ने, वासस्थानको उचित व्यवस्थापन नभएकाहरूको अवस्था दयनीय छ ।
चिकित्सकहरूले भने चिसोवाट बच्न न्यानो कपडा लगाउने, झोलिलो तातो पदार्थ पटक–पटक खाइरहन र बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा हेरचाह गर्न सुझाव दिएका छन् । तर, चिसो ह्वातै बढ्दा समेत स्थानीय प्रशासनले चिसोबाट प्रभावितहरूको राहतको लागि ध्यान दिएको देखिदैन । त्यसैले, चिसो सुरु हुदैँ यसबाट बचाउन प्रशासनले पनि बेलैमा उचित व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्