२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


राष्ट्रिय महिला लिग फुटबल ७ गतेबाट, पहिलो खेल आर्मी र पुलिसबीच


0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने भएका हुन् । उद्घाटन खेल माघ ७ गते दशरथ रंगशालामा हुनेछ । अन्य खेलहरु भने एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छन् ।

माघ ७ गतेबाट सुरु हुने महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी पनि राख्न पाउने भएका छन । एन्फाले पहिलो पटक महिला लिगमा समेत विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको हो । महिला लिगमा तीन विभागीयसहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरी ७ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

लिगमा नेपाल आर्मी, पुलिस र एपीएफसहित चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ लाखसहित ट्रफी, दोस्रोले ८, तेस्रोले ५, र चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।