१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदै


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आइतबार(आज)बाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने निष्कर्ष निकालेको थियो ।

शनिबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुन लागेको हो । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध पुष ६ गते १३ वटा रिट दायर भएका थिए । जसमध्ये १२ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गरेका थिए ।

संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न गत पुस १० गते सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।