
एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको ५० वटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत हप्ता संसद भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकको गरेको हिंस्रक आक्रमण दोहोरिन सक्ने आशंकामा नेशनल गार्डका दस्ता राजधानी वासिंटन डिसीमा खटिएका छन् ।
अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले हतियारधारी ट्रम्प समर्थकले सबै राज्यमा प्रदर्शन गर्नसक्ने चेतावनी दिएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको हो । वासिंटनमा एक जना हतियारधारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मेरिल्याण्ड, न्यू मेक्सिको, उताहमा सम्भावित प्रदर्शनलाई ध्यानमा राखी आपतकाल घोषणा गरिएको छ । केही राज्यहरूको राजधानी शपथ समारोह नसकेसम्म बन्द गर्ने निर्णय गरिएको छ । बाइडेनको टिमले विभिन्न शहरबाट शपथ ग्रहण समारोहका लागि भ्रमण नगर्न मानिसहरुलाई आग्रह गरेको छ ।
राष्ट्रपति ट्रम्पले चुनावमा धांधली गरेर आफूलाई हराइएको आरोप लगाउंदै आउनु भएको छ । उनले अहिलेसम्म प्रमाण भने पेश गर्न सक्नुभएको छैन । उहाँले नतिजा उल्ट्याउन समर्थकहरूलाई उक्साए पछि उनीहरूले संसद भवनमा आक्रमण गरेका थिए । घटनामा पाँच जनाको मृत्यु भएको थियो ।
बाइडनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्