
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते जनप्रदर्शनको तयारी स्वरुप आइतबार (आज) विभिन्न कार्यक्रम गर्ने भएको छ ।
दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसको तयारी स्वरुप आइतबार(आज) पनि देशैभर विभिन्न बैठक तथा कार्यक्रमहरु आयोजना गरेको छ ।
दाहाल–नेपाल समूहको नेकपाले आइतबार नै काठमाडौंका विद्यार्थी संगठन र युवाको बैठक तथा भेला आयोजना गर्दैछ । तिनकुनेस्थित एक बैंक्वेट र प्रज्ञा भवन कमलादीमा हुने दुवै बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुने उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम गरिरहेको नेकपा दाहाल–नेपाल समूहले माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्नेछ ।
त्यसैगरी माघ ७ गते दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयेजना गर्ने र ९ गते उपत्यकाका विभिन्न स्थानबाट निस्केका जुलुशसहित मध्यान्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्