
जितेन्द्र भण्डारी
पाँचथर । सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधरणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङथापुमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधासमेत उपभोग गर्न पाएका छैनन् ।
पाँचथरको याङवरक वडा नम्बर १,२ र ३ नम्वर वडालाई लक्षित गरेर स्थापना भएको सीमा प्रशासन कार्यालयमा अधिकृत स्तरको कुनै कर्मचारी लगायत अन्य कर्मचारीहरु समेत नबस्दा सेवाग्राही मर्कामा परेका छन् ।
कर्मचारी नबस्दा नागरिकता बनाउन सदरमुकाम फिदिम धाउनु पर्ने बाध्यता ज्यूकात्यूहुँ छ । कर्मचारी सरकारले तोकेको स्थानमा जानै नमान्ने र गएपनि दुई चार महिना बसेपछि सरुवा जाने जस्ता कारणले यस क्षेत्रका सर्वसाधरणले सरकारी सेवा सर्वसुलभरुपमा पाउन सकेका छैनन् ।
यस क्षेत्रमा २ महिना अधिकृत कर्मचारी बसेपनि १० महिना चाहिँ नबस्ने गरेको च्याङथापुका स्थानिय राजेन्द्र तिम्सिनाको गुनासो छ । कार्यालयमा अहिले अधिकृत, नायवसुब्बा, लेखापाल लगायत कार्यालय सहयोगी गरी ८ जनाको दरबन्दी भएपनि लामोसमयदेखि नासु र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।
अधिकृतस्तरको कर्मचारी नबस्दा यस क्षेत्रका स्थानीयले सदरमुकाम फिदिम आएर दुई तीन दिनमा मात्रै नागरिकता लिएर घर फर्कन बाध्य छन् । हिउँदमा जेनतेन आवतजावतमा कम समस्या भएपनि वर्षातको समयमा बाढी पहिरोका कारण कच्ची सडकमा सवारी साधान ठप्प हुँदा च्याङथापु, फलैँचा, ओयामका स्थानीयले सदरमुकाम फिदिममा आएर नागरिकता समेत बनाउन सक्ने अवस्था छैन ।
कार्यालयमा अधिकृतस्तर लगायतका अन्य कर्मचारी बसिदिएको खण्डमा सेवाग्राहीलाई सहज हुने विष्णु मावि च्याङथापुका प्रधानाध्यापक अग्नि खरेल बताउनुहुन्छ । अधिकृतस्तरको कर्मचारी हुँदा नागरिकता यसै कार्यालयबाट प्रदान गरिँदै आएको र भारतको सिक्किम जाने पास पनि यतैबाट दिइने गरिएको तर अहिले ती सवै काम हुन छोडेको कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले बताउनुभयो ।
स्थानीयको समस्याबारे गाउँपालिका जानकार भए पनि अहिलेसम्म केहि गर्न नसकेको याङवरक गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले बताउनुभयो । समस्याको बारेमा जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाललाई जानकारी गराएपनि स्थानीयको समस्या सामधान हुन सकेको छैन ।
यस क्षेत्रमा अधिकृतस्तरको कर्मचारी मात्रै नियमित रुपमा कार्यालय बसेर सेवा प्रवाह गरिदिने हो भने घरपायक स्थानबाटै यस क्षेत्रका स्थानीयले नागरिकता पाउने थिए । यस्तै सिमावर्ती यस क्षेत्रका स्थानीयलाई समेत आवातजावत गर्न सहज हुने थियो । (हेर्नुहोस् भिडियो)
प्रतिक्रिया दिनुहोस्