१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीको पहिलो जित, हिमांशुको शानदार इनिङ्स


0
Shares

काठमाडौं । कर्णाली प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रथम जित दर्ता गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित हात पारेको हो ।

२ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटयो । उसका लागि बिपिन हिमांशु शाहीले अविजित रहँदै ६० बलमा सर्वाधिक ६८ बनाए । यस्तै बिपिन रावलले ४९, राज शाहीले ३२ र हेमन्त ओलीले २९ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ गण्डकीका बिपिन खत्री एक्लैले ४ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकी प्रदेशले ४२.३ ओभरमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो । उसका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, बिपिन खत्रीले ३२, बिशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन जोडे । बाँकी खेलाडी दोहोरो अंक बिनाकै रन बनाएर पेभेलियन फर्किए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले समान २–२ तथा रविन्द्र शाहीले १ विकेट लिए ।

खेलमा सर्वाधिक रन बनाउने कर्णाली प्रदेशका हिमांशु शाहीले प्लेयर अफ दि म्याचको उपाधि हात पारे । जितसँगै दुई खेलबाट २ अंक बनाउँदै कर्णाली प्रदेश तालिकाको तेश्रो स्थानमा छ भने गण्डकी प्रदेश ३ खेलबाट समान २ अंक बनाउँदै चौथो स्थानमा छ । गण्डकी र कर्णाली समूह ‘ए’मा रहेका टोलीहरु हुन् ।