१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजाकाे भाषा ह्वास्सै गन्हाएका ओलीलाई भित्तामै पुर्‍याइदिने दाहालको चेतावनी


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशलाई दुर्घटनातर्फ लैजाने दुष्कर्मको सुरुवात भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीको भाषा पूर्व राजाकाे जस्तै ह्वास्सै गन्हाएको बताउनुभयो । उहाँले जनतामा निहित सार्वभौमसत्तामाथि ओलीले आक्रमण गरेको भन्दै प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको आरोपसमेत लगाउनुभयो । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफ्नो भावुक व्यक्तित्वको फाइदा लिए पनि आफूले चाहेको खण्डमा ओलीलाई भित्तामै पुर्‍याइदिने चेतावनीसमेत दिनुभयो ।

दाहाल–नेपाल समूहका अर्को अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेका ओलीले आफुलाई कामचलाउ भएको स्वीकार्नु पर्ने वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताउनुभयो । पद प्राप्तिका लागि आफू र दाहाललाई भ¥याङ बनाएको टिप्पणी गर्दै उहाँले नेताहरूलाई जालझेल गर्ने ओली झुटको पुलिन्दा भएको आरोप लगाउनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ओलीप्रति लक्षित गर्दै पार्टीभित्रकै निरङ्कुश महाराजालाई देख्न नसक्नु दुःखद भएको बताउनुभयो । अलोकतान्त्रिक शासकहरूलाई अन्त्य गर्न जरुरी भएको बताउँदै उहाँले संर्घषको माध्यमबाट मात्र सम्भव भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक नारायण वाग्लेले प्रतिगमन, विकास र समृद्धिबारे जनतालाई प्रष्ट पार्न सके मात्र ओलीको प्रतिगामी कदमविरुद्ध साथ दिने बताउनुभयो ।