
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको अधिवक्ताहरुले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा रिट निवेदकहरूको तर्फबाट मंगलबार पाँच जना अधिवक्ताहरूले बहस गर्दै प्रधानमन्त्री ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।
बहसका क्रममा अधिवक्ताहरूले विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका छन् । अधिवक्ता डाक्टर रुद्र शर्माले संसदले नभइ प्रधानमन्त्रीले संसदको विश्वास नगरेको तर्क गर्नुभयो । बहसका क्रममा अधिवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले संसदसँग सम्बन्ध तोडेको बताउनुभयो ।
उडिरहेको बेलुनको धागो चुँडिएपछि कि जमिनमा खस्नुपर्छ कि आकाशमा हराउनु पर्ने भन्दै शर्माले प्रधानमन्त्री आफैँले संसदको विश्वास गुमाएकाले कि अब संसदमा फर्केर आउनुपर्छ या हराउनुपर्छ भन्ने तर्क गर्नुभयो । प्रधानन्यायाधीश राणाले यस्तो प्रकृतिको उदाहरणमा नजान अधिवक्ता शर्मालाई आग्रह गर्नुभएको थियो ।
प्रतिनिधिसभा विघटन सम्बन्धी संविधानको धारा ७६(७) को प्रयोग ७६को (५) को प्रधानमन्त्रीले मात्र गर्न सक्ने अधिवक्ता डा. शर्माको तर्कमा प्रधानन्यायाधीश राणाले धारा ७६(१)को बाहेक सरकार बन्ने अवस्था नदेखिएको र संसदले सरकार बनाउन नसक्ने अवस्थामा संसद विघटन हुन सक्छ कि सक्दैन भन्ने प्रश्न गर्नुभयो । अधिवक्ता शर्माले अहिलेको प्रधानमन्त्रीले विघटनको धारा प्रयोग नै गर्न निमिल्ने जिकिर गर्नुभयो ।
बहसका क्रममा प्रधानन्यायाधीश राणाले सर्वोच्च अदलातले रिट निवेदकहरूको माग अनुसार विघटन अस्वीकार गरेमा मुलुकमा कस्तो सरकार बन्ने संवैधानिक व्यवस्था छ भनेर प्रश्न गर्नुभएको थियो । उहाँले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा विभाजन नभएको तथा संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव पनि नआएको भन्दै सत्तारुढ दलको १ सय ३८ जनाभन्दा बढी सांसद रहेको अवस्थामा संसद् विघटन भएको र पुनःस्थापना भए अर्को सरकार गठनको विकल्प के हो ? भनेर प्रश्न गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै मंगलबारको बहस सकिएकाले बुधबारको बहसको सुरुवात रिट निवेदनको तर्फबाट उहाँले नै सुरु गर्नु हुनेछ । मंगलबार अधिवक्ताहरू डाक्टर शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डाक्टर रुद्र शर्मा र डाक्टर चन्द्रकान्त ज्ञवालीले बहस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्