
काठमाडौं । प्रदेश १ र बागमती प्रदेशको हिउँदै अधिवेशन आजबाट सुरु हुँदैछ । दुबै प्रदेशका मुख्यमन्त्रीहरुले यो अधिवेशनमा अविश्वाशको प्रस्ताव सामना गर्नुपर्नेछ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपले दुई भागमा विभाजित भएको छ ।
यसैको परिणामस्वरुप नेकपाको दाहाल नेपाल समुहले ओली पक्षका मुख्यमन्त्री रहेको प्रदेश १ र बागमतीमा अविश्वाशको प्रस्ताव ल्याएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले अविश्वाशको प्रस्ताव सामना गर्ने बताउनुभएको छ ।
यी दुबै प्रदेशमा मुख्य विपक्षी दल नेपाली कांग्रेस निर्णायक देखिएको छ । प्रदेश सभाबाट अविश्वाशको प्रस्ताव पास हुन आवश्यक मत दाहाल नेपाल समूहसँग मात्रै छैन । त्यसैले मुख्यमन्त्री हटाएर नयाँ मूख्यमन्त्री बनाउन नेपाली कांग्रेसको साथ अनिवार्य चाहिन्छ । कांग्रेसले भने यसबारे अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्