१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

पिएम कप क्रिकेट : १ सय ९८ बल बाँकी छँदै पुलिस ९ विकेटले विजयी


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

१ सय ११ रनको सामान्य चुनौती पछ्याएको पुलिसले एक विकेटको क्षतिमा १७ ओभरमै लक्ष्य भेट्टाउदै जित निकालेको हो । १ सय ९८ बल बाँकी छँदै टीमले खेल जितेकाे हाे ।

पुलिसका लागि ओपनर सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक बनाए । सुनिल ५३ रन बनाएर आउट हुँदा कुशल ५१ रन बनाउँदै अविजित रहे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा अलआउट हुँदै जम्मा १ सय १० रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । सन्जु धामी ३५, अरुण ऐर १३ र अर्जुज साउदले १० बनाउँदा अरु कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान चार–चार विकेट लिए ।

१० ओभर बलिङ गरेर १८ रन खचिइ ४ विकेट लिएका सागर ढकाल प्लेयर अफ दि म्याच घोषित भए ।

जितसँगै नेपाल पुलिस क्लब समूह ‘बी’मा तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट चार अंक बनाएको बागमती प्रदेश तालिकाको पहिलो स्थानमा रहँदा दुई अंक रहेको लुम्बिनी प्रदेश नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।