
प्रकाश नेपाल
इलाम । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल इलामको सन्दकपुरमा पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँको लगानीमा सन्दकपुरको पर्यटकीय क्षेत्रमा २ हजार ३ सय मिटर पदमार्ग निर्माण सम्पन्न समेत भइसकेको छ ।
सन्दकपुर पर्यटकीय क्षेत्रमा २ हजार तीन सय मिटर पदमार्ग निर्माण भएसँगै भारतीय सडक र पदमार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो । प्रदेश १ को प्रमुख पर्यटकीय क्षेत्रमा प्रदेश सरकारको लगानीमा पदमार्ग निर्माण भइरहेको छ । सन्दकपुरको माइ नदीको मुहान क्षेत्रदेखि पाँचथरको आहाल क्षेत्रसम्म पदमार्ग निर्माण गरिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बु बताउनुहुन्छ ।
पदमार्गसँगै धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको सन्दकपुरको माइ मुहान क्षेत्रमा रेलिङ निर्माण र घेराबार गरिएको छ । पदमार्ग निर्माण भएपछि नेपाली बाटो प्रयोग गरी हिमश्रृङ्खलासहित नेपाल र भारतका मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
सन्दकपुरबाट सुरु भएको पदमार्ग पाँचथरको तिम्बुङ पोखरी हुँदै कञ्चनजङ्घा संरक्षण क्षेत्रसम्म जोड्ने प्रदेश सरकारको योजना रहेको छ । प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र घोषणा भएपछि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि पुर्वाधार निर्माणको कामलाई प्राथमिकता दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्