
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा बहसको दौरान न्यायाधीशहरूले गरेका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभयो । यद्यपि उहाँले न्यायाधीशहरूले संविधानको मर्म र भावना अनुसार नै फैसला गर्ने विश्वास भने व्यक्त गर्नुभयाे ।
केन्द्रीय सदस्य झाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको संज्ञा दिँदै विघटनविरुद्ध तेस्रो चरणको कार्यक्रम अझै कडा हुने जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीले चालेको कदमले जनताको सार्वभौम अधिकार हनन भएको जिकिर गर्दै जनतासँग ढिला नगरी माफी माग्न आग्रह गर्नुभयो ।
नेता झाले प्रधानमन्त्रीले निर्वाचन गर्नेप्रति शंका व्यक्त गर्दै संविधान नै नमान्नेले कसरी निर्वाचन गर्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले निर्वाचन आयोगलाई पनि खबरदारी गर्दै असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तैयारीको नाममा राज्यको ढुकुटी रित्याउनतर्फ नलाग्न आग्रह गर्नुभयो । साथै उहाँले अब आउने निर्वाचनबाट जसपा मुलुकको पहिलो पार्टी बन्ने दाबीसमेत गर्नुभयो ।
फरक प्रसङ्गमा नेता झाले ओली तानाशाही बन्न खोजेको आरोप लगाउँदै गदाफीलाई त्यहाँका लोकतन्त्रप्रेमी जनताले गरेको अवस्था स्मरण गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्