आफ्नो कद आफैं घटाउँदै नेताहरु

news

सरोज अधिकारी (इमेज)

काठमाडौं, भदौ ६ । राजनीतिक दलका नेताहरुबाट एकार्काप्रति कुनै–कुनैबेला यति हदसम्मको तिक्तता व्यक्त हुने गरेको छ कि त्यो समाचारमा आएपछि उनीहरुसँग पछुताउनुबाहेक कुनै विकल्प रहँदैन ।

बिहीबार नेकपा सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको चर्काचर्कीले यस्तै अवस्था बनेको छ ।

नेकपाभित्र एकीकरण प्रक्रियालाई टुंग्याउन गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । यसका लागि दिनहुँ बैठक बस्नुपर्ने अवस्था छ ।

तर, विविध कारणले बैठक बस्ने दिनहरु लम्बिरहेका छन् ।

बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने पूर्र्वसन्ध्यामा भएकाले थाती रहेका विषयमा निर्णय हुने ठानिएको थियो ।

तर, बैठकको सुरुमै कुनै एजेन्डाहरु नभएको र आफू उपचारका लागि सिंगापुर जान लागेकाले आगामी दिनमा बैठक डाक्ने र निर्णय गर्ने कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भएको जानकारी अध्यक्ष ओलीले दिएपछि वातावरण एकाएक बिग्रियो ।

यतिसम्म भयो कि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई ‘तपाइँ अध्यक्ष कि म ?’ भन्ने प्रश्न सोध्ने र वरिष्ठ नेता नेपालले व्यक्त गरेको स्वास्थ्यलाभको कामनासमेत ‘मरिहालोस् भन्नेको शुमकामना चाहिँदैन’ भन्ने तहसम्म पुग्यो ।

हुन त केही समययता नेपाल र ओलीबीचको सम्बन्ध बिग्रँदै गएको थियो । वरिष्ठ नेताबाट घटुवामा परेपछि नेता नेपालले ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए ।

उनले पार्टी सन्चालन पद्दति र सरकारको काम–कारबाहीकाबारेमासमेत प्रश्न उठाउँदै आएका छन् ।

सत्तारुढ दलभित्रका वरिष्ठ नेताहरुबीच देखिएको यो तिक्तताले पार्टीलाई त असर गर्छ नै जनताले विश्वास गरेर दिएको मतकोसमेत अपमान हुन्छ । किनकि, दलभित्र तिक्तता रहेसम्म सरकारमा उसको प्रस्तुति राम्रो हुन सक्दैन ।

तिक्तताको शृंखला

२०४८ सालपछिकै अवस्था हेर्ने हो भने पनि नेपाली कांग्रेसका तत्कालीन नेतात्रय गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबीचको तिक्तताले पार्टी, सरकार र देशलाई कस्तो असर गर्‍यो, सबैलाई थाहै छ ।

तत्कालीन एमालेभित्र पनि केपी ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचको तिक्तताले बहुमत ल्याउने सम्भावना रहेका बेला पार्टी नै विभाजन भयो ।

अहिले पनि कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको तिक्तताले पार्टीलाई असर गरिरहेको छ भने निर्वाचनमा जनमत पनि गुमेको छ ।

नेताहरुले आफ्नो बोली र व्यवहारमा विचार नगर्दा आफ्नो कद आफैं घटाइरहेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनपछि ‘हरुवाहरुसँग सहकार्य गरिन्न’ भनेका पुष्पकमल दाहालले पछि पद नै त्याग्नुपर्‍यो ।

तत्कालीन राष्ट्रपतिलाई ‘भैंसी गोठालो’ भनेर वैचारिक तुच्छपन प्रकट गरेका दाहालले कुनै बेला केपी ओलीलाई ‘पागल’ भन्थे भने ओलीले पनि दाहाललाई त्यसै भन्थे ।

देश चलाउन जनताबाट निर्वाचित भएका दलका नेताहरुले बोली र व्यवहारमा संयमता नअपनाउने र पछि पछुताउने गरेका दृष्टान्त धेरै छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...