
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेलाई रिलिज गरेको छ । सन्दीपलाई दिल्लीले हिजो रिलिज गरेको हो । दिल्लीले सन्दीपसँगै किमो पाउल, एलेक्स केरी, जेसन रोय र मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको छ ।
दिल्लीले रिलिज गरेसँगै सन्दीप अब मेगा अक्सनमा सामेल हुने छन । आईपीएलले फ्रेन्चाइज टिमलाई खेलाडी रिलिज र रिटेनको मिति हिजोसम्म दिएको थियो । युएईमा सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो ।
सन २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्लीले खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो । सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए । तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रने अवसर नै पाएका थिएनन ।
दिल्ली फाइनल पुगेको संस्करणमा सन्दीप बेन्चमै सिमित भएका थिए । आईपीएल इतिहासमा दिल्ली पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा दिल्ली मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्