
दिपेन्द्र अधिकारी
काठमाडौं । अमेरिकामा राष्ट्रपति जो बाइडनले पदभार ग्रहण गरेसँगै उहाँको विदेश नीतिको अन्तर्राष्ट्रिय प्रभाव कस्तो रहला भन्ने चासोको विषय बनेको छ । त्यसमा पनि यस अघि ट्रम्प प्रशासनले लिएको नीतिको क्रमभङ्गताको असर विश्वले बेहोरिसकेको अवस्थामा नयाँ राष्ट्रपतिले लिने नीति चासो बन्नु स्वाभाविक हो ।
राष्ट्रपति बाइडनले स्पष्ट रुपमा विदेश नीति सार्वजनिक नगरे पनि विश्वसँग मिलेर अघि बढ्न जलवायु परिवर्तन, आप्रवासी सम्बन्धी नीति, मेक्सिकोको सीमा पर्खाल निर्माण रोक्ने, कोरोना महामारी नियन्त्रण लगायत १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरिसक्नु भएको छ । ट्रम्पले भन्दा बाइडनले उदार नीति लिने भएकाले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको बारेमा उहाँले दिने महत्वको प्रभाव नेपालमा पनि पर्ने विश्लेषण गरिएको छ ।
बाइडेन कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा धेरै परिवर्तन आउने नदेखिए पनि विश्व मञ्चमा बाइडेन प्रशासनको उपस्थितिको प्रभाव र असर भने नेपालमा पनि देखिने छ । कोरोना महामारीका कारण विश्वव्यापी प्रभावले गर्दा नेपालले बाइडन प्रशासनबाट तत्काल केही पाइहाल्ने अवस्था नरहेको अमेरिकाका लागि नेपालका पूर्व राजदूत शंकर शर्माको भनाइ छ ।
यद्यपि अमेरिकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा सहयोग बढाउने र त्यसबाट नेपालले घुमाउरो तरिकाले फाइदा लिन सक्छ । बाइडेन प्रशासनले भारत र चीनप्रति कस्तो नीति अख्तियार गर्छ, यसले पनि नेपाल नीति प्रभावित हुने विश्लेषण गरिएको छ । यद्यपि नयाँ प्रशासन आएसँगै नेपालजस्ता अल्प विकसित मुलुकको पहुँच पनि बढ्ने विश्वास बढेको छ ।
बाइडेन प्रशासनको एमसीसी बोर्डमा नयाँ मानिसहरू आउने हुनाले एमसीसीको लागि नेपालले संसद नभएको अवस्था र अमेरिकामा नयाँ प्रशासन हुने हुँदा छलफल हुन सक्छ । आप्रवासी प्रति नरम नीति अख्तियार गर्ने हुँदा आप्रवासी नेपालीलाई सहज हुनेछ । तिब्बती शरणार्थी र उनीहरूको मानव अधिकारको प्रश्नमा पनि बाइडन प्रशासनले नेपाललाई दबाव दिने सक्नेछ । अमेरिकाको इन्डोप्यासिफिक रणनीति पनि नेपालमा बढी चासोको विषय रहेको छ ।
वर्षौदेखि चल्दै आएको सैन्य सहकार्यमा वृद्धि गर्नेमा बाइडेन प्रशासन सराकात्मक रहन सक्ने देखिएको छ । शक्ति राष्ट्रहरुबीचको संघर्षका बीच पनि सन्तुलित र व्यवहारिक सम्बन्धबाट फाइदा लिन नेपाल जस्ता साना राष्ट्रहरूको कुटनीतिक चातुर्य बढी महत्वपूर्ण हुन्छ । बाइडेन प्रशासनसँग पनि नेपालले यस्तै तरिकाले सम्बन्ध बढाइ देशको हित अनुकुलका फाइदा लिन कुटनीतिक सुझबुझको देखाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्