१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सावित्राको ह्याट्रिकले एपिएफ विजयी, विराटनगर र वालिङबीच बराबरी


0
Shares

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपिएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपिएफलाई जित दिलाउन राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक–एक गोल थपे ।

दोस्रो खेलमा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा वालिङकी सम्झना शर्माले दोस्रो मिनेटमै कर्नर पासमा हेड गोल गरेकी थिइन् ।

६३ औं मिनेटमा विराटनगरकी आशा कुमारीले फ्रिकिकमार्फत बराबरी गोल गरिन् । वालिङकी सरस्वती हमाल प्लेयर अफ द म्याच भएकी छिन् ।

शुक्रबार प्रतियोगितामा एकमात्र खेल हुनेछ । एन्फा मैदानमै नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी खेल्नेछन् ।