
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को एक फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्सले बुधबार आफ्ना अक्सन अघिका (रिटेन) खेलाडीहरूको सूची सार्वजनिक गर्यो । उक्त सूचीबाट नेपाली क्रिकेटर सन्दीप लामिछानेको नाम हटेको थियो । दिल्लीले सन्दीपसँगको तीनवर्षको सम्झौता सकिएसँगै उनलाई रिलिज गरेको हो ।
सन्दीपलाई रिटेन खेलाडीको सूचीमा नदेखेपछि नेपाली समर्थकहरूले दिल्ली क्यापिटल्सको फेसबुक पेज अनलाइन गर्न थालेका छन् । नेपाली समर्थकहरुले सन्दीपलाई रिटेन खेलाडीको सूचीमा नराखेसँगै अभियान नै चलाएर अनलाइन गर्न थालेका हुन् ।

बुधबार साँझ ६ बजेर ४९ मिनेटमा रिटेन खेलाडीकाे सूची सार्वजनिक गरेको दिल्लीको लाइक उक्त समयसम्म ६८ लाख ७० हजार ९ सय ६५ थियो । तर त्यसपछि सन्दीपका नेपाली समर्थकले अभियान नै चलाएर अनलाइक गरेसँगै बिहीबार साँझ ७ बजेसम्म दिल्लीकाे पेजमा लाइक घटेर ६८ लाख ६० हजार ३ सय १६ मा झरिसकेकाे छ । पछिल्लो २४ घण्टामा दिल्लीलाई १० हजारभन्दा बढी लाइक गुमाउनु परेको छ ।

नेपाली खेलाडी सन्दीपलाई टीममा लिएपछि अधिकांश नेपालीले दिल्ली क्यापिटल्सको पेज लाइक गरेका थिए । दिल्लीकाे जम्मा पेज लाइकमध्ये ३५ प्रतिशतभन्दा बढी लाइक नेपालीहरूकाे रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्