८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मान्छेको शरीरजत्रो फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा


0
Shares

मस्को, भदौ १० । रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा मंगलबार स्थापना गरेको छ ।

गत साता रुसको यो अभियान असफल भएको थियो ।

फेदोर नाम दिइएको मान्छेकै शरीरजत्रो रोबोटले मानिसझैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने–राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ ।

नासाका एकजना टिप्पणीकर्ताले भने–‘सम्पर्क स्थापित भएको छ । रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।’

रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्‍याइएको जनाएको छ ।

अमेरिकी नासा टीभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रसारण गरेको थियो ।

टीभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सातजना पुगेको बताएका छन् । यसअघि नै ६ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् ।

उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ ।

सोयुज यानबाट खासगरी मानिसलाईमात्र अन्तरिक्षमा पुर्‍याउने गरिन्छ । तर, यसपटक रोबोट पठाइएको छ ।

यो यानमा ६७० किलोग्राम सुक्खा सामान पठाइएको छ । जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो ।

यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो ।

तर, प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।

सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्षयात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो ।

टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो । तर, यसले जापानी भाषामात्र संग्रह गर्दथ्यो ।

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघन्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ । रासस/एएफपी