
काठमाडौं, असार ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत शान्तिको पक्षमा रहेको बताएका छन् । तर, उक्साएको खन्डमा उचित जवाफ दिन भारत सक्षम रहेको पनि उनले बताए ।
भारत–चीनको सीमावर्ती लद्दाखमा सोमबार राति भारत र चिनियाँ सैनिकबीच भएको हिंस्रक झडपपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
बुधबार कोरोनाभाइरसका विषयमा भारतका मुख्यमन्त्रीहरुसितको बैठकको सुरुमा उनले लद्दाखमा भारत–चीन सीमा विवादका विषयमा बोलेका हुन् ।
उनले सीमामा मारिएका आफ्ना सैनिकको शहादत व्यर्थ नजाने बताए ।
सो हिंस्रक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले भारतले कहिले–कसैलाई नउक्साएको भन्दै आफूहरु आफ्नो देशको अखन्डता र सम्प्रभुताका विषयमा सम्झौता पनि नगर्ने स्पस्ट पारे ।
उनले आफ्नो स्वाभिमान र एक इन्च जमिनको पनि रक्षा गर्ने उल्लेख गरे ।
त्यसक्रममा उनले लद्दाखस्थित भारत–चीन सीमाको गलवान उपत्यकामा मारिएका आफ्ना सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । दुई मिनेटको मौनधारणसमेत गरिएको थियो ।
यसैबीच, बुधबार अपराह्न भारतका विदेशमन्त्री एस जयशंकरले चीनका विदेशमन्त्री वाङ यीसित सीमामा भएको तनावका विषयमा टेलिफोनमा कुराकानी गरेका छन् ।
यसअघि, बुधबारै चीनले गलवान उपत्यकामा भएको घटनामा आफू जिम्मेवार नभएको र भारतकै कारण झडप भएको प्रतिक्रिया दिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्