
डम्मर बुढा मगर
बागलुङ । घण्टौ लगाएर एक गाग्री पानी भर्न जाने पात्लेवासीको दिनचर्या अहिले फेरिएको छ । अहिले सबैको घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । धारामा पानी भर्न पालो पाउनै मुस्किल हुने गरेको यहाँका बासिन्दा घर अगाडी नै धारोमा पानी आउन थालेपछि दङ्ग परेका छन् ।
भौगोलिक विकटता र खानेपानीको मुहान बस्ती भन्दा धेरै टाढा हुँदा पोखरी, कुवाको धमिलो पानी प्रयोग गर्न बाध्य भएका स्थानीयले अहिले भने स्वच्छ खानेपानी पिउन पाएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घर–घरमा धारो निर्माण गरिदिए पछि यहाँका बासिन्दाले खानेपानीको समस्याबाट मुक्ति पाएको स्थानीय ८० वर्षीय मेहरसिंह थापाले बताउनुभयो ।
गाउँमा पानीको अभाव हुँदा रातको समयमा समेत पानी बोकेर उपभोग गरेको स्थानीय चन्द्रकला रास्कोटीको भनाइ छ । खानेपानीको मुहान धेरै टाढा भएको र जंगल छिचोलेर जानु पर्ने हुँदा धेरै भन्झट खेप्नु परेको महिलाहरूको दुखेसो छ । ‘ज्यानकै माया मारेर पानी लिन जानुपर्थ्यो अहिले सुरक्षित भइयो’, एक महिलाले भनिन् ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले पात्लेमा धेरै वर्षदेखि खानेपानीको चरम अभाव भएकाले पालिका र वडाको समन्यवमा खानेपानी पु¥याइएको बताउनुभयो । खानेपानीको अभाव भएपछि निरन्तर काम गरेर एक बर्षमै योजना सम्पन्न गरिएको हो ।
नेवाले निर्माण सुरु गरेको पात्ले झाँक्रीस्थान खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत गाउँमा २१ वटा धारा निर्माण भएका छन् । जसबाट पात्लेगाउँका २९ घर परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । योजना ४५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । गाउँबाट खानेपानीको मुहान ६ किलोमिटर टाढा रहेको छ ।
घरघरमै खानेपानी पुगेपछि यहाँका स्थानीयले राहत महसुस मात्र गर्न पाएका छैनन् खानेपानीकै अभावका कारण हुने बसाइसराई पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्