१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशबाट फर्केर बाख्रा पालनमा रमाउँदै, वार्षिक ५ लाख आम्दानी


13
Shares

केशर पुन मगर

रुकुम । वैैदेशिक रोजगारबाट फर्केका रुकुम पश्चिमका बेरोजगार युवाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । आफ्नै ठाउँमा केही गर्ने संकल्प गरेका उनीहरुले बाख्रापालनलाई व्यवसायीक रुपमा अगाडि बढाउने भएका हुन् । धेरै युवाहरु बेरोजगार भएर बस्ने र वैदेशिक रोजगारीको लागि विदेश पलायन भैरहेको अबस्थामा रुकुम पश्चिमका युवाहरुले भने आफ्नो पसिना र मेहनतको उपयोग गाउँमै गर्ने संकल्प गरेका छन् ।

सानीभेरी गाउँपालिकाका प्रताप नकालले नमुना बाख्रा पालन नामको फर्म खोलेर आफ्नै गाउँमा आम्दानी गर्न थाल्नु भएको छ । उहाँको फर्म अहिले गाउँपालिकाकै नमुना फर्मको रुपमा रहेको छ । उहाँको र्फममा अहिले तोतापुरी र जमुना पारि क्रस बाख्रा रहेका छन् भने उनले सबै बाख्राको बिमा गरिसकेका छन् ।

नकालले बाख्रा पालन व्यवसायलाई सुधार गर्दे ३ लाख रुपैयाको लगानीमा सुधारिएको खोर निमार्ण गरेका छन् । गाउँमै केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेका उनले भैँसी पालेर घ्यु बेच्दै सुरु गरेको व्यवसायिक यात्रा भैँसी पालन, तरकारी खेती, फलफुल खेति, मौरी पालन व्यवसायसहित अहिले बाख्रापालन व्यवसायसम्म आई पुगेको छ ।

उहाँजस्तै वैदेशिक रोजगारीबाट फर्केका युवाहरु अहिले बाख्रापालनमा हौसीएका छन् । नकालले बाख्रा पालन व्यबसायबाट मात्रै बार्षिक ४ लाख रुपैया सम्म आम्दानी गर्दे आएका छन् । त्यस्तै मौरी र तरकारीबाट बार्षिक एक लाख रुपैया आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारिको सिलसिलामा विदेश पलायन हुने युृवाहरु लक्षित गर्दै नकालले दुःख गर्न सके नेपालमै केही गर्न सकीने उदाहरण दिनु भएको छ ।

तर, दुर्गम ठाउँ भएकाले बाख्रा पालन व्यव्सायमा केही प्राविधिक कठिनाई भएको किसानहरुको भनाई छ । प्राविधिक ज्ञानकालागि स्थानीय सरकारसंग हारगुहार गरेपनि कतैबाट सहयोग नमिलेको उनीहरुको भनाई छ । यता सानीभेरी गाउँपालिकाले भने व्यवसायिक बाख्रा पालन गर्ने कृषकहरुको लागि तालिम र प्राविधिक ज्ञान उपलब्ध गराउने दावी गरेको छ ।

सानीभेरी गाउँपालिका पशु सेवा शाखा प्रमुख भुपेन्द्र पुनले बाख्राको चरन क्षेत्र र हावापानी उपयुक्त भएकाले बाख्रापालनको सम्भावना भएको भन्दै इच्छुक किसानलाई सेवा दिने बताउनुभयो । अहिले कृषि पेशामा आत्मनिर्भर नहुने युवाजमातकाबीचमा यहाँका युवाहरु उदाहरण बन्न सक्छन ।

त्यसैले स्थानीय सरकारले पनि यस्ता व्यवसयाीक युवाको प्रोत्साहनकोलागि होस्टेमा हैसे गरीदिए युवाहरुको बेरोजगार दर घट्ने पक्का थियो ।