१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ बसपार्कबाट १३ जना पारलैंगिक नियन्त्रणमा, प्रहरी कार्यालय तोडफोड गरेपछि मुद्दा


0
Shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले १३ जना पारलैंगिकलाई नियन्त्रणमा लिएको छ । बाटोमा हिड्ने सर्वसाधारणलाई हैरानी दिएपछि आवश्यक सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बिहीबार राति साढे १० बजेतिर नियन्त्रणमा लिइएको हो ।

सोधुपछका क्रममा उनीहरुले ड्युटी अफिसरमाथि हातपात गरेर अफिसरको टेबुलमा रहेको सिसा फुटाएको प्रहरीले जनाएको छ । फुटेको सिसाले प्रहरीलाई आक्रमणको प्रयास गर्दै आफैँ माथि पनि चोट पुर्याउन खोजेपछि उनीहरुलाई रोकिएको थियो ।

पारलैंगिक समूहका व्यक्तिहरुले प्रहरी कार्यालयमै तोडफोड र ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र बालाजुबाट थप प्रहरी परिचालन गरी महाराजगञ्ज लगिएको महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार महाराजगञ्जमा राखेपछि पनि उनीहरुले थप व्यक्ति बोलाएर हो–हल्ला गरेपछि थप ३ जनालाई पक्राउ गरिएको थियो । अहिले उनीहरुलाई महाराजगञ्ज, गौशाला, बालाजु र सोह्रखुट्टेबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।