
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आज सुरु हुँदैछ । संघका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन बोलाइएको हो ।
विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको हो ।
दुई दिनसम्म चल्ने अधिवेशनको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक रामप्रताप थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ । अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसकेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । संघ पुनःर्संरचनाका लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।
संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्