
खिलनाथ ताजपुरिया
काठमाडौं । प्रतिनिधि सभा विघटन पछि दुई चिरा परेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूह दिनहुँ जसो कार्यक्रमहरूमा जुटिरहेका छन् । दाहाल–नेपाल समूह विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको छ भने ओली समूह विघटनको बचाउमा लागेको छ ।
दुवै समूह आ–आफ्नो अडानमा उभिरहँदा नेकपा निकट सञ्चारकर्मीहरू पनि स्पष्ट रूपमा दुई धारमा देखिएका छन् । निष्पक्ष भूमिकामा जनतालाई सुसूचित गराउनुपर्ने उनीहरू पनि ओली समूह वा दाहाल–नेपाल समूहको परिचयमा देखिन थालेका हुन् ।
माघ ६ गते प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा दाहाल–नेपाल समूह निकट पत्रकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिमा ओलीको कदमविरुद्ध चर्का नारा लागे । भेलालाई सो समूहका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दै सबै क्षेत्रका पत्रकारहरूको भूमिकाले नै जनयुद्ध र जनआन्दोलन सम्भव भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले धरापमा परेको गणतन्त्रलाई बचाउन आफू निकट पत्रकारहरूलाई अपिल समेत गर्नुभयो ।
उसो त प्रधानमन्त्री ओली पनि आफू निकट पत्रकारहरूलाई कस्तो समाचार सम्प्रेषण गर्ने भन्नेबारे निर्देशन दिइरहनुहुन्छ । माघ ८ गते ओली निकट प्रेस संगठन नेपालको भेलामा उहाँले पत्रकारिताको पाठ नै पढाउनुभयो । एक कदम अघि बढ्दै उहाँले आफू निकट पत्रकारहरूको आनीबानी व्यवहारबाटै पार्टीको पत्रकार हो भनेर चिन्नुपर्ने दलील समेत गर्नुभयो ।
मुलुक सम्हालिरहेका वा सम्हालिसकेका नेतृत्व तहबाटै यसरी सञ्चारकर्मीलाई पार्टीका कार्यकर्तालाई झैँ निर्देशन दिनु विडम्बना नै मान्नु पर्छ । दलहरू प्रायः सबैले आफू निकटका पत्रकारकारलाई आफ्नो पक्षमा कलम चलाउन आग्रह गर्नु भने खासै नौलो कुरा रहेन ।
निष्पक्ष रूपमा जनतालाई सुसूचित गर्नु पत्रकारको धर्म हो । यो धर्म र दायित्व निर्वाह गर्दा कुनै पनि व्यक्ति, वाद, पार्टी वा समूहको पक्षपोषण गर्नुहुँदैन । कुनै पार्टी वा समूह प्रति आस्था रहनु वा झुकाव भए पनि उसको कर्ममा त्यसको गन्ध आउन नदिनु नै पत्रकारिताको धर्म हो । कुनै पक्षप्रतिको आग्रह वा पूर्वाग्रहले निष्पक्ष भूमिकामा उभिनुपर्ने पेशागत कर्तव्यबाट विमुख हुन जाँदा स्वयं सञ्चारकर्मीनै प्रश्नको घेरामा परिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्