
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बल(२ सय ११ बल बाँकी छँदै)मा ४ विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित रहँदै सर्वाधिक १८ रन जोडे । प्रकाश केसी १७ रनमा अविजित हुँदा कप्तान कृष्ण कार्कीले १५ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे । कप्तान सन्तोष भट्टले ११ रन बनाए । तीन खेलाडी शून्यमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अनिल खरेल र विक्रम भुसालले २–२ विकेट लिए । ४ विकेट लिएका कार्की प्लेयर अफ दि म्याच बने ।
जितसंगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ । सुदूरपश्चिमको यो लगातार तेस्रो हार हो ।
प्रतिक्रिया दिनुहोस्