
काठमाडौं । कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशलाई १ सय ४७ रन रोक्दै कर्णाली प्रदेशले तेस्रो जित निकालेको हो ।
कर्णालीका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । १ सय २ बलको सामना गरेका उनले ६ चौकाको मद्दतमा ५८ रन जोडे । यस्तै हिमांशु शाही २०, कप्तान रविन्द्र शाहीले १४ रन बनाउँदा अभिषेक ठकुरी र राज साहले समान १२ रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्न एपिएफका बसन्त रेग्मी र किशोर महतोले समान ३–३ विकेट लिए । भुवन कार्कीले २ विकेट झार्दा शरद भेषावकरले पनि १ विकेट हात पारे ।
त्यसअघि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एपिएफले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागिसन्दीप सुनारले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए ।
भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए । सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए । किशोर महतो १३ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३–३ विकेट लिए । दिवान पुन र राज साहले २–२ विकेट लिए ।
जितसँगै एपिएफ समूह ‘ए’को अंकतालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना तीन खेलमा तीनवटैमा जित निकालेको हो । एपिएफको अर्को खेल सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग छ ।
प्रतिक्रिया दिनुहोस्