
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकूहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान र त्यागको सरकारले सम्मान गर्ने बताउनुभयो । पूर्व लडाकूहरुलाई ढुक्क हुन आग्रह गर्दै उहाँले राजनीतिक रूपमा समस्याको समाधान हुने बताउनुभयो ।
‘विगतमा जस्तो धोका पाउनु हुन्न’ प्रधानमन्त्री ओलीले भन्नुभयो । विगतमा सरकारले माओवादीका पूर्व लडाकूहरुसँग गरेका विभिन्न सहमति कार्यान्वयन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने, पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने गरी पूर्व लडाकुसँग सहमति भएको छ ।
त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको छ । भेटमा सहभागी भएका माओवादीका पूर्व लडाकुका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिनुभएको छ ।
प्रधानमन्त्रीको यस्तो आश्वासन पछि आफूहरु पार्टीमा ओली पक्षलाई साथ दिन तयार रहेको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्