
एजेन्सी । जेलमा रहेका रुसी विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा शनिबार निकालिएको प्रदर्शनबाट दर्जनौँ व्यक्ति गिरफ्तार गरिएका छन् । प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई प्रदर्शन अगावै गिरफ्तार गरिएको थियो ।
गत आइतबार जर्मनीबाट स्वदेश फर्केका उनलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा हुने अपेक्षा गरेका छन् । नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता हुन् ।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेद्वार बन्न खोजेका थिए तर आर्थिक हिनामिनाको आरोपमा उम्मेद्वार बन्न दिइएन । नडराई बोल्ने ब्लगरका छवि बनाएका नभाल्नीलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् । सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।
गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विषको हमला भयो । त्यसका लागि उनले पुटिनलाई दोषी मान्छन् । महिनौंपछि जर्मनीबाट मस्को फर्किएका नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । विमानस्थलमा पक्राउ पर्नु केही समयअघि उनले आफू सही रहेको भन्दै कुनै डर नभएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्