
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उहांले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो ।
जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने उहांको भनाइ थियो । अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, संघीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ की भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको जिकिर गर्नुभयो ।
मन्त्री ज्ञवालीले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित नहुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्