
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पूजा गर्नुभएको छ । आज बिहानै पशुपति मन्दिर पुगेर पशुपति नाथको पूजा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालपनि पशुपति जानु भएको थियो ।
पशुपतिमा प्रधानमन्त्रीले संकल्प पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शुक्र/वृहस्पती अस्त भएका बेला प्रधानमन्त्री ओलीले पशुपतिमा धूमधामको पूजा गर्नुभएको हो । सामान्यतयाः शुक्र वृहस्पती अस्त भएका ेबला विशेष पूजाआजा गर्न नहुने धार्मिक मान्यता रहँदै आएको भए पनि प्रधानमन्त्री ओलीले यही समयमा घण्टौं लगाएर पूजा गर्नुभएको हो ।
ओलीले पशुपति क्षेत्रमा करिब एक घण्टा बिताउनु भएको थियो । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा हुँदै गरेका र भएका कामका बारेमा जानकारी गराउनु भएको थियो ।
पशुपतिनाथको पूजा पछि ओली आजै दाङ जाने कार्यक्रम छ । दाङको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो झोलुङे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्