१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारलाई डा. शेखरको आग्रह, ‘नागरिक समाजसँग माफी माग’


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई नागरिक समाजसँग माफी माग्न आग्रह गर्नु भएको छ । सोमबार बालुवाटारमा मानवअधिकार तथा शान्ति समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवामाथि प्रहरीले पानीको फेहोरा र लाठी बर्साएको थियो ।

मंगलबार ट्विट गर्दै डा. शेखरले सरकारलाई नागरिक समाजसँग क्षमा माग्न आग्रह गर्नुभएको हो । उहाँले प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका नागरिक समाज माथि भएको वर्वरताको निन्दा र भत्सर्ना जति गरे पनि नपुग्ने बताउनु भयो ।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनविरुद्ध आन्दोलनमा होमिएका नागरिक समाजमाथि गरेको दमनको अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ, न कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै हुन्छ’, उहाँले भन्नुभयो ।

प्रदर्शनमा सहभागी केही नागरिक समाजका अगुवा घाइते समेत भएका छन् । सोमबार नै देशमा शान्ति कायम होस् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो । त्यसको केही समयमा प्रहरीले नागरिक अगुवामाथि लाठी बर्साएको थियो ।

प्रधानमन्त्री हुँदा ईश्वरको नाममा सपथ नखाने ओलीले पशुपतिनाथको दर्शन गरेर पञ्चामृत पूजा गरेको भन्दै निकै आलोचना समेत भएको छ ।