
काठमाडौं । बुधबार देखि सुरु नेपालमा हुने खोप अभियानको पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइँदैछ । सरकारले स्वास्थ्यकर्मी देखि सरसफाई कर्मचारी कैदी बन्दीसम्मलाई खोप लगाउने नामावली तयार पारेको छ । बुधबार १ सय २० खोप केन्द्र र ६२ अस्पतालबाट खोप कार्यक्रम सुरु हुँदैछ । तर, खोपका लागि सर्वसाधारणमा उत्साहका साथै केही डर पनि रहेको पाइएको छ ।
सरकारले ढुक्क भएर खोप लगाउन आग्रह गरे पनि सर्वसाधारण मात्र होइन केही स्वास्थ्यकर्मीमा पनि खोपको विषयमा संशय रहेको देखिन्छ । छोटो समयमा खोप विकास हुनु र कतिपय मुलुकमा यसको दुष्प्रभाव देखिएका घटनाले संशय बढाएको हो । खोप लगाउँदा कुनै समस्या देखिए त्यसको जिम्मेवारी कसले लिन्छ, खोप लगाए पश्चात मृत्यु नै पो हुन्छ कि लगायतका प्रश्न स्वास्थ्यकर्मी देखि सर्वसाधारणसम्मको मनमा उब्जिएको छ ।
कुनै पनि खोप लगाइसके पश्चात मानिसको शरीरमा केही समस्या देखिनु सामान्य भएको विज्ञहरूको तर्क छ । समस्या देखिन थाले पश्चात मात्र खोपले काम गर्दै छ भन्ने पुष्टि हुने डा.वालकृष्ण सुवेदी बताउनुहुन्छ । खोप लगाए पश्चात हल्का ज्वरो आउने र खोप लगाएको स्थानमा केही दिन दुख्ने, सुनिने गर्छ । यस किसिमको समस्या देखिएमा खोपले प्रतिक्रिया देखाएको र रोग सँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढ्दै गएको भनि बुझ्नुपर्ने डा. सुवेदी बताउनुहुन्छ ।
खोप लगाएका कारण मृत्यु नै हुने सम्भावना निकै न्यून रहेको सुवेदीको दाबी छ । शरीरमा अन्य रोग भएका व्यक्तिमा कुनै समस्या देखिन सक्ने र खोपको कारणले भन्दा पनि अन्य कारणले समस्या भएको हुन सक्ने उहाँको भनाइ छ । तर गर्भवती, सुत्केरी महिला र १८ वर्ष भन्दा कम उमेर समूहमा भने परीक्षण नगरिएकाले खोप लगाउन हुँदैन ।
खोपले मानिसको शरीरमा भाइरस सँग लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । जसमा पहिलो डोजको खोप लगाए पछि ५० प्रतिशत र दोस्रो डोज पश्चात ७० प्रतिशत काम गर्ने बताइएको छ । तर, खोप लगाए पश्चात कति वर्ष सुरक्षित हुन्छ, पुनः खोप लगाउनु पर्छ या पर्दैन भन्ने विषयमा अझै पूर्ण अध्ययन हुन सकेको छैन । यद्यपि खोप लगाएको कम्तीमा ६ महिना भने ढुक्क हुने विज्ञहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्