२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी राजदूतकाे सक्रियता के का लागि ?


0
Shares

अक्कल कुँवर
काठमाडौं । अमेरिकी प्रशासनमा नयाँ नेतृत्वको आगमनसँगै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले काठमाडौंमा सक्रियता बढाउनुभएको छ । अमेरिकामा जो वाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै राजदूत बेरीले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएका अमेरिकी राजदुत बेरीले सोमबार नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । यस्तै, मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभयो । राजदूत बेरीले राजनीतिक नेतृत्वसँगको श्रृङ्खलाबद्ध भेटघाटलाई निरन्तरता दिने जानकारी दिनुभएको छ ।

भेटवार्तापछि ट्वीट गर्दै राजदूत बेरीले नयाँ प्रशासनका प्राथमिकताबारे छलफल भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटमार्फत प्रजातन्त्रलाई सुदृढ, जलवायु परिर्वतनविरुद्ध लड्ने र विश्वभर महिला र बालबालिकाको मानव अधिकार संरक्षण गर्ने अमेरिकी प्रतिबद्धता दाहोर्‍याएको उल्लेख गर्नुभएको छ ।

परराष्ट्रविद् डा.दिनेशचन्द्र भट्टराईले अमेरिकी नयाँ नेतृत्वको प्राथमिकता, नेपाल तथा दक्षिण एशियाली मुलुकप्रतिको आगामी नीतिलगायतका विषयमा राजदूत बेरीले अवगत गराएको अनुमान गर्नुहुन्छ । अर्का परराष्ट्रविद् प्रा.डा.लोकराज बरालले बेरीले सार्वजनिक गरेका विषयसहित नेपालको पछिल्लो राजनीतिक अवस्था, बहुप्रतिक्षित एमसीसी परियोजना लगायतका विषयमा पनि नेपाली नेतृत्वसँग छलफल भएको हुनसक्ने बताउनुभयो ।

बाइडेन नेतृत्वको अमेरिकी प्रशासनले पूर्ववर्ती ट्रम्प प्रशासनको भन्दा पृथक प्राथमिकताहरू राखेको विश्लेषण गरिँदै आएको छ । तर, परराष्ट्रविद् डा.भट्टराई नेपाल र दक्षिण एशियाली मुलुकप्रतिको नीतिमा नयाँ प्रशासनको प्राथमिकतामा खासै परिर्वतन नहुने जिकिर गर्नुहुन्छ ।

भेटवार्तामा राजदुत बेरीले कोभिड–१९ विरुद्ध अमेरिकाले नेपालसँग नजिकको सहकार्य गर्ने र जलवायु परिर्वतनसम्बन्धी सगरमाथा संवादमा सहयोग गर्ने अमेरिकी चाहना अवगत गराएको जनाइएको छ । बहुप्रतिक्षित एमसीसी परियोजना र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भए नभएको सम्बन्धमा कुनै पक्षले केही खुलाएका छैनन् ।