१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वसभामुख ढुङ्गानाविरुद्ध न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर


0
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा न्यायालयको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । गत पुष २७ गते काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बोलेका विषयलाई आधार बनाएर अधिवक्ता राजाराम घिमिरेले अवहेलना मुद्दा दायर गर्नुभएको हो ।

पूर्व सभामुख ढुङ्गानाले ‘न्यायाधीशहरूले संविधान नाघेर फैसला गर्न सक्दैनन्, उनीहरूको पनि पदीय सुरक्षाको कुरा छ, सडकबाट न्यायाधीश तान्ने दिन आउनसक्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

ढुङ्गानाले प्रतिनिधिसभा विघटनको बहस गर्दा संवैधानिक र राजनीतिक दुवै पक्षबाट हेर्नुपर्ने भन्दै संविधानअनुसार फैसला गर्नुपर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्ने बताउनुभएको थियो ।

रिट निवेदनमा एक जिम्मेवार तहमा रहेर काम गरेका व्यक्तिले अदालतमा विचाराधीन विषयमा दबाव सिर्जना गर्ने गरी दिएको अभिव्यक्ति अशोभनीय भएको भन्दै हदैसम्मको सजाय माग गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध न्यायालयमाथि अवहेलना गरेको भन्दै रिट निवेदन परेको थियो । उहाँले विभिन्न कार्यक्रममा अदालत र बहस गर्ने अधिवक्ताहरूमाथि अपमानजनक अभिव्यक्ति दिनुभएको थियो ।