२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवनमा वन्यजन्तु पाठशाला, जंगली जनावरको आक्रमणबाट बच्न यस्तो सिकाइन्छ


0
Shares

डोलराज रानाभाट
चितवन । चितवनमा वन्यजन्तुबाट जोगिने उपायबारे जानकारी दिन पाठशाला खोलिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुबाट स्थानीयले आफन्त गुमाइरहेकाले यसबाट बच्ने उपायका बारेमा जानकारी दिन पाठशालानै खोलिएको हो ।

आफ्नो दैनिकीका लागि मध्यवर्ती र निकुञ्जमा निर्भर रहनुपर्ने स्थानीयको बाध्यता छ । तर, यस्तै बाध्यतामा परेको उनीहरुले वन्यजन्तुको आक्रमणबाट आफन्त समेत गुमाउदै आएका छन् । त्यसैले पनि बन्यजन्तुबाट जोगिदै र तिनीहरुलाई संरक्षण पनि गर्दै जाने उद्देश्यले वन्यजन्तु शिक्षामुलक पाठशाला सुरु गरिएको हो ।

पाठशालामा जंगली जनावरहरुको आनीबानी र प्रत्यक्ष जम्काभेट हुँदा अपनाउनुपर्ने तरिकाहरुलाई विशेष जोड दिइएको छ । स्थानीयहरुलाई विषय बिज्ञबाट कक्षा संचालन गरीएको छ । पाठशालाको राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान मध्यवर्ती क्षेत्र चितवनले सुरु गरेको हो ।

अभियानका अध्यक्ष एवम संरक्षणकर्मी अपिल घिमिरेले वन्यजन्तु संरक्षण आजको आवश्यकता भएकाले त्यसै अनुरुप पाठशालामा पढाई हुने बताउनुभयो । गाईवस्तु पालन गरी जीविकोपार्जन गरिरहेका स्थानीय मध्यवर्ती वनमानै निर्भर रहनुपर्ने बाध्यता छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले चालु आर्थिक वर्षको मंसिर ७ सम्म बाघको आक्रमणबाट ३ जना, गैँडाको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट १ गरी ५ जनाको ज्यान गइसकेको बताउनुभयो । पाठशालामा अध्ययनरत भरतपुर १३ का स्थानीय हिरामणी दवाडीले घाँस दाउरा गर्दा वन्यजन्तुबाट अशुरक्षित हुनु परेको गुनासो गर्नुभयो ।

गैँडा बाघ बाट जोगिदै तीनीहरुलाई समेत जोगाउने गरी बेलसहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ मा पहिलो पटक कक्षा सञ्चालन भएको हो । बेलसहरमा बाघ पाइने र केही महिना पहिले एक जना स्थानीय जनुवा चौधरीको बाघको आक्रमणबाटै ज्यान समेत गएको थियो ।

अहिले यस्तै जंगल जानुपूर्व र जंगलमा हिडडुल गर्दा ख्याल राख्नुपर्ने कुराहरुको बारेमा ज्ञान सिप दिइएको छ । जंगल नगई जिविका नचल्ने तर, वन्यजन्ुतको आनीबानी थाहा नहुँदा जोगिने ठाउँँ हुँदाहुदै पनि ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने स्थानीयको चाहना छ ।

आफन्त गुमाउनुपरेको पीडालाइ भुलेरै भए पनि स्थानीयहररु वन्यजन्ुतको संरक्षणमा त जुटी रहेकै छन् । तर वन्यजन्तुबाट हुने नोक्सानको क्षतीपूर्ति लिन भने कठिन हुने गरेको उनीहरुको गुनासो छ । सरकारी तहबाट जनचेतनाका काम कमै मात्र भइरहदा संस्थाको सक्रियतामा भएको कार्यक्रमले वनमा हुँदा र नहुँदा जनावरहरुबाट जोगिन राम्रो शिक्षा मिलेको उनीहरुको भनाई छ ।

मध्यवर्ती क्षेत्रका अति जोखिम स्थानमा बसोवास गरिरहेका बासिन्दालाई सहभागी गराउने गरी थप ३१ वटा कक्षा विभिन्न ठाउँमा गएर संचालन गर्ने तयारीसमेत भई रहेको छ । स्थानीयले भने मानव वन्यजन्तुबीचको द्वन्द्व सधैका लागि अन्त्य हुनुपर्ने बताउँदै सरकारसँग व्यस्थित बसोबास संरक्षणको माग गरिरहेका छन् । (हेर्नुहोस् भिडियो)