
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेलगत्तै पार्टी विभाजित अवस्थामा रहेका बेला नेता गौतमले एकताको अभियान सुरु गर्न लाग्नुभएको हो ।
ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई निम्तो दिइएको छ । हाल एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व दाहाल र माधव नेपालले गरेका छन् ।
दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौज गर्दै आएका छन् । उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ रहनुभएको छ ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्