
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ढिलै भएपनि कोरोनाविरुद्धको लडाइ नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
कोरानाविरुद्धको खोपको पहिलो चरणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरानाविरुद्धको लडाइमा सुरुवाती समयमा सरकारले आम जनताको अपेक्षा अनुसार काम गर्न नसकेपनि विस्तारै उपलब्धी हासिल गरेको दावी गर्नुभयो । उहाँले स्थानीय निकायका जनप्रतिनिधिले क्षमताअनुसार पूर्णरुपमा काम गरेको बताउनुभयो ।
उहाँले कोरोना विरुद्धको देशव्यापी अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सुरु भएसँगै नयाँ पुर्नजागरण सिर्जना गरेको दावी गर्नुभयो । उहाँले पूर्वजहरुले अवलम्बन गरेको रोग प्रतिरोधी गतिविधि पुनः सुरु भएको र वैज्ञानिक ढंगले परिभाषित गर्ने मौका मिलेको तर्क गर्नुभयो ।
स्वास्थ तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले सुरक्षाको अनुभुति गर्दै ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । दक्षिण एशियामा नेपाल खोप लगाउने तेस्रो मुलुक भएको बताउँदै मन्त्री त्रिपाठीले सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको हो ।
त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानलाई शुभकामना सन्देश दिनुभएको छ । उहाँले खोप आएको डेढ महिनामै नेपालले खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्