१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप अभियान सुरु, स्वास्थ्यकर्मीमा खुसीको लहर


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । कोरोना संक्रमितको उपचारमा सुरुवाती चरणदेखि खटिरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलालाई पहिलो खोप लगाई नेपालमा कोरोनाविरुद्धको खोप कार्यक्रमको सुरुवात गरियो । खोप लगाउनेमा टेकु अस्पतालमै कार्यरत ८० बर्षीय रेडियोलोजिस्ट डाक्टर नेत्रबहादुर अमात्य पनि हुनुहुन्छ ।

नेपालमा कोरोना संक्रमण देखिएको १ बर्षपछि भित्रिएको खोप बुधबार देशभरका १ सय २० खोप केन्द्र र ६५ अस्पतालबाट एकैसाथ सुरु गरिएको हो । काठमाडौं उपत्यकाको भने १२ अस्पतालमा खोप कार्यक्रम सुरु गरिएको छ । जसमा टेकु, वीर, पाटन, त्रिवि शिक्षण, सशस्त्र प्रहरी लगायतका अस्पतालहरू छन् ।

भारत सरकारको अनुदानमार्फत भित्रिएको खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइमा संलग्न व्यक्ति, एम्बुलेन्स चालक, शव व्यवस्थापक लगायतका व्यक्तिहरूलाई लगाइँदै छ । सरकारले अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको र भारतको सेरम इन्स्टिट्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

माघ २३ गतेभित्र पहिलो डोज खोप लगाइ सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो डोज खोप लगाएको चार सातापछि अर्थात फागुन १२ गते दोस्रो डोज दिइने छ । यसको साइड इफेक्टकाबारे केही व्यक्तिमा संशय देखिए पनि खोप लगाएकाहरूले भने निर्धक्क भएर लगाउन आग्रह गरेका छन् ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले खोप लगाउन पाउँदा निकै खुसी लागेको बताउँदै खोपको दुस्परिणाम निकै नै कम रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाले अन्य सामान्य खोप जस्तै लिन सबैलाई अनुरोध गर्नुभयो । खोप लगाएपछि भाइरसविरुद्ध रोग प्रतिरोधात्मक शक्ति बढ्ने भन्दै उहाँले सुत्केरी, गर्भवती महिला र १८ बर्षभन्दा कम उमेरका बालबालिकामा खोपको परीक्षण नगरिएकाले लगाउन नहुने बताउनुभयो ।

नेपालमा कोरोना परीक्षण सुरु गरेको दिनमै खोप लगाउन पाउँदा निकै खुसी लागेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रकी निर्देशक डा. रुना झाले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण कम भइरहेको समयमा सुरु गरिएको खोप अभियानका कारण संक्रमणदर अझ कम हुने विश्वास लिइएको छ । सरकारले अब बाँकी जनताका लागि पनि तत्काल खोपको व्यवस्था गर्न आवश्यक छ ।