
दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं । शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन विश्व विद्यालयहरूले रोकिएको परीक्षा धमाधम लिइरहेका छन् । यहीबेला प्रतिनिधिसभा विघटनपछि सडक तातेको छ । विश्व विद्यालयको परीक्षा र दलहरूको सडक प्रदर्शन एकैसाथ परेको छ । जसले गर्दा परीक्षा केन्द्रसम्म पुग्न विद्यार्थीलाई कठिनाइ भइरहेको छ ।
कोरोना संक्रमणको जोखिमले गत चैतबाट रोकिएको परीक्षा धमाधम हुन थालेका छन् । शैक्षिक क्यालेण्डर प्रभावित हुन नदिन विश्वविद्यालयहरू विदाको दिनसमेत कटौती गर्दै स्नातकोत्तर र स्नातक तहको परीक्षा सञ्चालन गरिरहेका छन् ।
गत पुष १४ गते दाहाल–नेपाल समूहको नेकपाको शक्ति प्रदर्शनले स्नातकोत्तर तहका दोस्रो सेमेस्टरको परीक्षा दिन परीक्षार्थी समयमा परिक्षा केन्द्र पुग्न सकेनन् । ९ गते पनि दाहाल–नेपाल समूहको आमसभाले सडक अवरुद्ध हुँदा विद्यार्थीले उस्तै समस्या भोग्नुपर्यो ।
विद्यार्थीको परीक्षाको बारेमा ठूला नेताहरूलाई थाहा नभए पनि सम्बन्धित दलका विद्यार्थी संगठनहरूलाई अवश्य थाहा हुन्छ । तर, उनीहरू विद्यार्थीको पक्षमा बोल्नुको साटो आफ्ना माउ पार्टीले आयोजना गरेको आन्दोलन र विरोध सभालाई साथ दिइरहेका हुन्छन् । पुस १४ र माघ ९ गते प्रदर्शन गरेको दाहाल–नेपाल समूहनिकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सडकमा निस्कनु बाध्यता भन्दै विद्यार्थीसँग माफी माग्नुभएको छ ।
दाहाल–नेपाल समूहले माघ २८ सम्मको लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरेपछि उपत्यका लगायतका मुख्य शहरका सडक अहिले अस्तव्यस्त बन्ने गरेको छ । जसले सवारी आवागमन प्रभावित हुने गरेको छ । माघ २३ गते नेकपाकै ओलीपक्षले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
माघ ९ गते गरेको सभालाई सानो भन्दै प्रधानमन्त्री ओलीले २३ गतेको आमसभा ठूलो र बृहत हुने बताउँदै आउनुभएको छ । सानो भनिएको प्रदर्शनमा सास्ती भोगका विद्यार्थीहरू ठूलो प्रदर्शन गर्न लाग्दा कति दुःख पाउने हुन्, त्यसको लेखाजोखा छैन ।
विद्यार्थीलाई सास्ती दिने यस्ता किसिमका प्रदर्शनलाई झण्डा बोकेर नार लगाउँदै सहभागी हुने विद्यार्थी संगठनहरूले नै विद्यार्थीको अधिकार रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको दाबी गर्दै आएका छन् । ओलीपक्षीय अनेरास्ववियूका संयोजक ऐन महर आफूहरुले विद्यार्थीको समस्या बुझेको बताउँदै विद्यार्थीको अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुहुन्छ ।
यस्तै माघ १९ गते नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । यस्तै २४ गते शुभेच्छुक संस्थाहरू र ३० गते ७७ वटै जिल्ला कार्यसमितिहरूले विरोधका कार्यक्रम गर्दैछन् । आफूहरूले विरोध कार्यक्रम गर्दा विद्यार्थीको अधिकार संरक्षणमा प्रतिबद्ध रहने कांग्रेस निकट नेपाल विद्यार्थी संघले जनाएको छ ।
विद्यार्थीको हक हित र शैक्षिक उन्नयनका लागि काम गर्ने विद्यार्थी संगठनको कुरा मिठा र तर्क संगत लाग्छन् । तर, त्यसले देशको भविष्य मानिएको विद्यार्थीको परीक्षालाई भय रहित बनाउन ध्यान भने दिन सकिरहेका छैनन् ।
भिडियो हेर्नुहोस्
भिडियो : राजेन्द्र नापीत
प्रतिक्रिया दिनुहोस्