
बारा । पर्सा राष्टिय निकुञ्ज भित्रको सडकमा सवारीको ठक्करबाट वन्यजन्तु मारिने क्रम बढ्दै गएको छ ।
मानिसमा सचेतनाको कमी र निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तुले नियमित बाटो काट्ने गोरेटोलाई सुरक्षित नबनाउँदा वन्यजन्तु मारिने क्रम बढ्दै गएको हो ।
पथलैया–अमलेखगञ्ज सडकखण्डको ९ किलोमिटर भित्र पथलैया नजिकको मोड, आधाभार छेउ र मझौनाबाट निस्कने वन्यजन्तुले बाटो काट्ने स्थान रहेको निकुञ्जले जनाएको छ ।
तीन स्थानमध्ये आधाभार छेउको बाटो रैथाने हात्तीले मात्र प्रयोग गर्ने निकुञ्जको भनाइ छ । उक्त बाटोबाट अकस्मात निस्कने हात्तीको समूहले निकुञ्जभित्रको सडक घण्टौ जाम हुने गरेको निकुञ्जले जनाएको छ ।
माघ महिनामा मात्रै सवारीको ठक्करबाट ६ वटा दुर्लभ पाटेबाघ, चित्तल, जंगली बँदेल र हनुमान बाँदर मारिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
वन्यजन्तुको सडक सुरक्षामा निकुञ्ज प्रशासन र सेनाले सजग गराउँदा पनि घटना घटेको प्रमुख संरक्षण अधिकृत मनोज कुमार साहले बताउनु भयो । निकुञ्जको सुरक्षामा हाल नेपाली सेनाको सिद्धिबक्स गणले खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्