१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्ड र माधव इतिहासले प्रमाणित गरिसकेको असफल नेता हुन्– मन्त्री अर्याल


0
Shares

काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई इतिहासले प्रमाणित गरिसकेको असफल नेताको आरोप लगाउनुभएको छ ।

अखिल नेपाल महिला संघ काभ्रेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले पार्टी चलाउन सकिन भनेर राजीनामा दिने नेपाल र पार्टी विघटनको प्रस्ताव लगेर प्रचण्ड असफल भएको बताउनुभयो ।

१६ वर्ष लगातार नेतृत्व गरेका नेपालले २०६४ सालको निर्वाचनमा लज्जास्पद हार भएपछि नाक जोगाउन पार्टी चलाउन सकिन भनेर महासचिवबाट राजीनामा दिएको मन्त्री अर्यालले बताउनुभयो ।

यस्तै प्रचण्डले ३१ वर्ष आफैंले नेतृत्व गरेको कम्युनिष्ट पार्टी विघटनको प्रस्ताव केन्द्रीय कमिटीमा लगेको बताउनुभयो । मन्त्री अर्यालले पतनको दिशामा पुगेको कम्युनिष्ट पार्टीलाई केपि शर्मा ओलीले आशा लाग्दो ठाउँमा पुर्याउनुका साथै नेपाललाई विश्वमा चिनाएको पनि दाबी गर्नुभयो ।

समृद्धिको यात्रामा लम्किरहेको सरकारलाई ठेस लगाउने काम भएको मन्त्री अर्यालको जिकिर छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अतिक्रमित जमिन समेटेर नक्सा जारी गर्ने, सबै जनतालाई समेट्ने र विकासका कामलाई तीव्र रूपमा अघि बढाउन थालेपछि आफ्नै पार्टीका केही नेतालाई असह्य भएको उहाँले बताउनुभयो ।