
सुर्खेत । गौहत्याको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी सबैभन्दा बढी डेढ वर्ष र नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकिएको छ ।
यस्तै नगर प्रहरी जवानहरू कमल बयक, सुवर्ण तारामी मगर, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६–६ महिनाको सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३—३ महिना जेल तोकिएको छ ।
२०७६ साल भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाईगोरु र बाच्छाबाच्छी दैलेख लैजाने क्रममा बाटोमै छोडिएको थियो । पछि ३९ वटा गाई रत्न राजमार्गको सुर्खेत खण्डमा मृत अवस्थामा फेला परेको थियो ।
८ वटा ट्रकमा ल्याइएका २ सय ९१ मध्ये अन्य गाई—गोरु र बाच्छा र बाच्छी सडकमै अलपत्र छाडिएका थिए । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालक सहित ७ जनाले भने सफाइ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्